माओवादीको ४० बुँदे माग र जनयुद्धको थालनी

माओवादीको ४० बुँदे माग र जनयुद्धको थालनी

Share on social media!

ने.क.पा. (माओवादी) ले २०५२ माघ २२ गते तात्कालीन सरकारसमक्ष पेश गरेका ४० सुत्रीय मागहरु

(क) राष्ट्रियतासँग सम्बन्धित मागहरु

१. सन् १९५० को नेपाल–भारत सन्धि लगायत सम्पूर्ण असमान सन्धि सम्झौताहरु खारेज गरिनुपर्ने ।

२. राष्ट्रघाती टनकपुर सम्झौतालाई खारेज गर्नुपर्ने र नेपालको सम्पूर्ण जलसम्पदामाथि भारतीय विस्तारवादलाई एकाधिकार सुम्पन २०५२ माघ १५ गते नेपाल र भारत सरकारबीच सम्पन्न कथित एकीकृत महाकाली सन्धि अझ बढी राष्ट्रघाती र दीर्घकालीन दृष्टिकोणले बढी खतरनाक भएकोले उक्त सन्धि तत्काल खारेज गरिनुपर्ने ।

३. नेपाल–भारत खुला सीमाना नियन्त्रित र व्यवस्थित गरिनुपर्ने। नेपालभित्र भारतीय नम्बरप्लेटका गाडीहरु चलाउन तत्काल रोक लगाउनुपर्ने ।

४. गोरखा भर्ती खारेज गरिनुपर्ने र नेपालीहरुलाई स्वदेशभित्रै सम्मानजनक रोजगारीको व्यवस्था गरिनुपर्ने ।

५. नेपालभित्र विभिन्न क्षेत्रमा कामको निमित्त स्वदेशी कामदारहरुलाई नै प्रश्रय दिनुपर्ने र विशेष अवस्थामा विदेशी कामदारहरुलाई काममा लगाउनुपर्दा वर्क परमिट प्रणाली लागू गरिनुपर्ने ।

६. नेपालको उद्योग, व्यापार र वित्तीय क्षेत्रमा विदेशी एकाधिकार पूँजीको आधिपत्य अन्त्य गरिनुपर्ने ।

७. आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकास हुने गरी भन्सार नीति तय र लागू गरिनुपर्ने ।

८. साम्राज्यवादी तथा विस्तारवादी सांस्कृतिक प्रदूषण अतिक्रमणको अन्त्य गरिनुपर्ने । देशभित्र नाङ्गा हिन्दी सिनेमा, भिडियो, पत्रपत्रिका आयात र वितरणमा तुरुन्त रोक लगाइनुपर्ने ।

९. एनजीओ र आईएनजीओ आदिको नाममा देशभित्र साम्राज्यवादी/विस्तारवादी घुसपैठको अन्त्य गरिनुपर्ने ।

(ख) जनतन्त्रसँग सम्बन्धित मागहरु

१०. जनगणतान्त्रिक व्यवस्था स्थापनाको निमित्त चुनिएका जनताका प्रतिनिधिहरुद्वारा नयाँ संविधान निर्माण गरिनुपर्ने ।

११. राजा र राजपरिवारका सबै विशेषाधिकार अन्त्य गरिनुपर्ने ।

१२. सेना, प्रहरी, प्रशासन पूर्ण रुपले जनताको नियन्त्रणमा हुनुपर्ने ।

१३. सुरक्षा ऐन लगायतका सबै दमनकारी ऐनहरु खारेज गरिनुपर्ने ।

१४. राजनीतिक प्रतिशोधका कारणले झुठा मुद्दामा फसाइएका रुकुम, रोल्पा, जाजरकोट, गोरखा, काभ्रे, सिन्धुपाल्चोक, सिन्धुली, धनुषा, रामेछाप लगायतका जिल्लाहरुका सम्पूर्ण बन्दीहरु तत्काल रिहा गरिनुपर्ने र सबै झुठा मुद्दाहरु खारेज गरिनुपर्ने ।

१५. जिल्ला–जिल्लामा भइरहेको सशस्त्र प्रहरी अपरेशन दमन र राज्यआतंक तुरुन्त बन्द गरिनुपर्ने ।

१६. विभिन्न समयमा हिरासतबाट बेपत्ता पारिएका दिलिप चौधरी, भावना मगर, प्रभाकर सुवेदी लगायतका व्यक्तिहरुको बारेमा निष्पक्ष छानबिन गरी अपराधीहरुलाई कडा कारबाही गरिनुपर्ने र पीडित परिवारलाई उचित क्षतिपूर्ति प्रदान गरिनुपर्ने ।

१७. जनआन्दोलनको क्रममा मारिएकाहरुलाई शहीद घोषणा गरिनुपर्ने। शहीदका परिवार तथा घाइते र अपाङ्गहरुलाई उचित क्षतिपूर्ति दिइनुपर्ने र हत्याराहरुमाथि कडा कारबाही गरिनुपर्ने।

१८. नेपाललाई धर्म निरपेक्ष राज्य घोषित गरिनुपर्ने ।

१९. महिलामाथिको पितृसत्तात्मक शोषणको अन्त्य गरिनुपर्ने र छोरीलाई छोरासरह पैतृक सम्पत्तिमाथि समान अधिकार दिइनुपर्ने ।

२०. सबै खाले जातीय शोषण र उत्पीडनको अन्त्य गरिनुपर्ने। जनजातिहरुको बाहुल्य भएका क्षेत्रहरुमा जातीय स्वायत्त शासनको व्यवस्था गरिनुपर्ने ।

२१. दलितहरुमाथिको भेदभावको अन्त्य गरिनुपर्ने । छुवाछुत प्रथा पूर्ण रुपले बन्द गरिनुपर्ने ।

२२. सबै भाषाभाषीहरुलाई समान अवसर र सुविधा दिइनुपर्ने । उच्च माध्यमिक तहसम्म मातृभाषामा शिक्षा प्राप्त गर्ने व्यवस्था मिलाइनुपर्ने ।

२३. वाक् तथा प्रकाशन स्वतन्त्रताको पूर्ण ग्यारेन्टी हुनुपर्ने । सरकारी सञ्चार माध्यमहरु पूर्ण रुपले स्वायत्त हुनुपर्ने ।

२४. बुद्धिजीवी, साहित्यकार, कलाकार र सांस्कृतिक कर्मीहरुको प्राज्ञिक स्वतन्त्रताको ग्यारेन्टी गरिनुपर्ने ।

२५. पहाड र तराईको क्षेत्रीय भेदभावको अन्त्य गरिनुपर्ने । पिछडिएको इलाकाहरुलाई क्षेत्रीय स्वायत्तता प्रदान गरिनुपर्ने। गाउँ र शहरबीच सन्तुलन कायम गरिनुपर्ने ।

२६. स्थानीय निकायहरुलाई अधिकार र साधन सम्पन्न गरिनुपर्ने ।

(ग) जनजीविकाको प्रश्नसँग सम्बन्धित मागहरु

२७. जमिन जोत्नेको हुनुपर्ने । सामन्तहरुको जमिन जफत गरेर भूमिहीन तथा सुकुम्बासीहरुमा वितरण गरिनुपर्ने ।

२८. दलाल तथा नोकरशाही पुँजीपतिहरुको सम्पत्ति जफत गरी राष्ट्रियकरण गरिनुपर्ने । अनुत्पादक क्षेत्रमा अल्झिएको पुँजीलाई औद्योगिकीकरणमा लगाउनुपर्ने ।

२९. सबैलाई रोजगारको ग्यारेन्टी गरिनुपर्ने । रोजगारी नपाउन्जेल बेरोजगार भत्ताको व्यवस्था गरिनुपर्ने ।

३०. उद्योग, कृषि लगायतका सबै क्षेत्रमा काम गर्ने मजदुरहरुको न्यूनतम ज्याला निर्धारण गरी त्यसलाई कडाइका साथ लागू गर्ने व्यवस्था गरिनुपर्ने ।

३१. सुकुम्बासीहरुलाई बसोबासको उचित व्यवस्था गरिनुपर्ने । वैकल्पिक बसोबासको व्यवस्था नगरी सुकुम्बासीहरुलाई उठिबास गर्ने काम तुरुन्त बन्द गरिनुपर्ने ।

३२. गरीब किसानहरुलाई बसोबासको उचित व्यवस्था गरिनुपर्ने । कृषि विकास बैंकबाट साना किसानहरुले लिएको ऋण मिनाहा गरिनुपर्ने । साना उद्योगीहरुलाई समुचित कर्जाको व्यवस्था गरिनुपर्ने ।

३३. मल, बीउ सस्तो र सुलभ हुनुपर्ने । किसानहरुलाई उत्पादनको उचित मूल्य र बजारको व्यवस्था गरिनुपर्ने ।

३४. बाढीपीडित र सुखाग्रस्त क्षेत्रहरुमा उचित राहतको व्यवस्था गरिनुपर्ने ।

३५. सबैलाई निःशुल्क र वैज्ञानिक स्वास्थ्य सेवा र शिक्षाको व्यवस्था गरिनुपर्ने । शिक्षा क्षेत्रमा व्याप्त व्यापारीकरणको अन्त्य गरिनुपर्ने ।

३६. महँगी नियन्त्रण गरिनुपर्ने । महँगीको अनुपातमा ज्याला वृद्धि गरिनुपर्ने । दैनिक उपभोगका वस्तुहरु सस्तो र सुलभ तरिकाले आपूर्ति गर्ने व्यवस्था गरिनुपर्ने ।

३७. गाउँ–गाउँमा खानेपानी, बाटोघाटो र बिजुलीको व्यवस्था गरिनुपर्ने ।

३८. कुटीर तथा साना उद्योगहरुलाई विशेष सहुलियत र संरक्षण दिइनुपर्ने ।

३९. भ्रष्टाचार, कालोबजारी, तस्करी, घुसखोरी, कमिसनतन्त्र अन्त्य गरिनुपर्ने ।

४०. अनाथ, अपाङ्ग, वृद्ध र बालबालिकाहरुको उचित संरक्षणको व्यवस्था गरिनुपर्ने ।

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *